विश्व शान्तिकालागि कुरआन


कुरआन इस्लामको महान ग्रन्थ हो । यसका कतिपय शिक्षाहरु त ईश्वरले मानवको सृष्टि सँगसँगै उनीहरुलाई दिदै आएका थिए । पहिलो मानव आदम (अलै.)को सृष्टि पश्चात् धर्तीमा जीवन निर्वाह गर्ने तरिका सिकाउनका लागि उनले आदम (अलै.) तथा हव्वा (अलै.)लाई इस्लामी शिक्षा दिए । धर्तीमा मानिसको संख्या बढ्दै गयो र ईश्वरले विभिन्न कालान्तरमा विभिन्न क्षेत्र, समुदाय र वंशका मानिसहरुका प्रतिनिधिलाई ईश्वरीय सन्देश अवतरित गर्दै रहे । यी प्रतिनिधिहरुको शिक्षामा इस्लामको शिक्षा रहेको थियो । तर त्यसरी अवतरित ईश्वरीय सन्देश अपूर्ण हुनुको साथै मानिसको कमजोरीका कारणले गर्दा सो शिक्षा वास्तविक रुपमा रहन सकेन र त्यसमा हेरफेर तथा थपघट हुँदै आयो । त्यसैले मानिस हरेक दृष्टिबाट बढी सक्षम भएपछि ईश्वरले हजरत  मुस्तफा मुहम्मद (सल्ल.)लाई अन्तिम सन्देष्टा बनाए र २३ वर्षको लामो अवधिमा मानवको सम्पूर्ण जीवन व्यवस्थालाई निर्देशित गर्ने सन्देशहरु अर्थात कुरआन  अवतरित गरे । कुरआनको शिक्षा नै इस्लामी शिक्षा हो । इस्लाम शब्द सलामबाट बनेको हो जसको शाब्दिक अर्थ शान्ति हुन्छ । त्यसैले कुरआनको शिक्षा नै शान्तिको शिक्षा हो ।

कुरआन अन्तिम सन्देष्टा हजरत मुहम्मद (सल्ल.) माथि अवतरित भएको हो । त्यस समयमा सारा अरबमा हत्या, हिंसा, आतंक, व्यभिचार, लुटपाट जस्ता क्रियाकलापहरु सामान्य थिए । जब मुहम्मद (सल्ल.) ले आफूमाथि अवतरित कुरआनका आयातहरु सुनाउन थाल्नुभयो, त्यसपछि देखि जसजसले सुन्थे र उपदेश पाउथे उनीहरुले आफ्ना नराम्रा क्रियाकलापहरु छोडदै जान्थे । जतिसुकै आतंकित व्यवहार देखाउने व्यक्ति पनि कुरआनको आयात सुनेपछि नम्र, भद्र र शान्ति बनिहाल्थ्यो र मनमा ईश्वरको भय राखी उनैको सामु नतमस्तक हुन्थ्यो । परिणाम स्वरुप अत्यन्तै उदण्डता र मानवताहिन भावनाद्वारा ग्रसित अरब वासीहरु कुरआनको शिक्षाले शान्त, शालिन, परोपकारी, सत्चरित्रवान र विवेकशील बन्न पुगे ।

यो त भयो तत्कालिन अरब समाजलाई कुरआनको त्यो शिक्षाले गरेको परिवर्तन । अब लागौं, कुरआनको त्यो शिक्षाको उल्लेखतिर जसले विश्व शान्तिमा अहम् भूमिका खेलेको छ । कुरआनको शिक्ष अनुसार ईश्वरले हजरत आदम (अलै.) को सृष्टि गरी यस धर्तिमा मानवको बसोबास शुरु गराए । यसर्थ संसारको जुनसुकै कुरामा बसोबास गरेको भए पनि वा हामी जुनसुकै जाति, बंशका भए पनि हाम्रो पूर्खा पहिल्याउदै जाने हो भने आदम (अलै.)मा गएर टुङ्गिन्छ । यसको अर्थ हामी सबै संसार वासीको एक पिता आदम (अलै.) नै हुन् । त्यसैले हामी सबै एकै बाबु र आमाका सन्तान हौं र हामी सबै एकै दाजुभाई तथा दिदीबहिनी हौं । कुरआनले सिकाएको यो पूर्ण सत्यले हामीबीच भातृत्वको भावना जागृत गराउँदछ । एक व्यक्तिले अर्को व्यक्ति वा एक समुदायले अर्को समुदाय वा एक राष्ट्रले अर्को राष्ट्र« विरुद्ध षड्यन्त्र गर्नु आफ्नेै परिवार भित्र षड्यन्त्र गर्नु हो भन्ने कुरा यसले प्रष्ट्याउँछ । विभिन्न राष्ट्रका बासिन्दाको रुपमा हामी विभाजित हुनुको अर्थ अर्कै वंश वा परिवारको हुनु होइन , जसरी हाम्रो समाजमा एउटै आमाको कोखबाट जन्मिएका छोराछोरीहरुको बसोबास एकभन्दा बढी घरमा हुन सक्दछ, त्यस्तै यत्रो संसारभरि फैलिएका आदम र हव्वा सन्ताहरुको घर समुदाय, देश, महादेश हुनु कुनै अनौठो कुरा होइन । यसले हामीबीचको एकात्मताको भावनालाई मार्न सक्दैन । देश महादेश भनेको भौगोलिक र राजनितिक विभाजन र हामीबिचको आपसी पहिचानको आधार मात्रै हो । यदि प्रत्येक मानिसभित्र कुरआनको यो वास्तविक सत्यको भावना जागृत भएमा आपसी भाइचारा, सदभाव र प्रेम बढ्न गई कहीकतै आतंक र झैझगडा स्थिति उत्पन्न हुने थिएन । यस्तो अवस्थामा विश्वमा शान्ति र अमनचयन स्थापित हुन पुग्दछ ।

ईश्वर एक छन् र अनेक हुनै सक्दैनन् अर्थात एकेश्वरवादको शिक्षा कुरआनको मूलभूत शिक्षा हो । यहि एकेश्वरवादको सत्यतालाई अंगालेर उनै एक ईश्वरको भक्तिमा लाग्ने सम्पूर्ण भक्तहरुबीच एकता र समानताको भावना उत्पन्न हुन्छ । ईश्वरको दृष्टिमा कोही ठूलो वा सानो छैन, सानो ठूलोको आधार जातजाति, वर्ण भौगोलिक क्षेत्र, धन सम्पत्ति र पद वा दर्जा होइन बरु उसले गर्ने  ईशभक्ति, व्यवहार र चरित्र हो । जसमा पूर्ण ईशभय छ र नैतिकता तथा अनैतिकता, असल तथा खराबको पहिचान गरी आफ्नो व्यवहार र आचरण देखाँउछ वास्तवमा ऊ नै ईश्वरको दृष्टिमा ठूलो हो । एक ईश्वरको नाम जप्ने र उनैलाई आफ्नो सबैथोकका मालिक, निर्माता र पालनहार मानेर नमाजका लागि एकै पंक्तिमा उभिदा समानताको भावना जागृत हुन्छ र आपसी कटुता हट्छ । नमाज जस्तो उच्चतम् उपासनामा एउटै पंक्तिमा तँ अगाडि र म पछाडि उभिनु पर्ने भन्ने संकुचित मावना मनमा नलिई सानो ठुलोको भेदभाव विना काँधमा काँध मिलाई समूहमा उभिनु समानता, एकात्मता र आफ्नोपनको उच्च प्रदर्शन हो । कुरआनले मानिसलाई दिने यो एउटा अत्यन्तै महत्वपूर्ण शिक्षा हो ।

ईश्वर प्रदत्त शिक्षा अर्थात कुरआनको शिक्षा अनुसार मानव सृष्टिको उद्देश्य सुख, दुःखको ज्ञान दिनु हो । ईश्वरले यी दुबै अवस्था सृजना गरिदिएर हरक्षण मानिसको परीक्षा लिइरहेका छन् । धन र सुख सम्पन्नता, गरिबी र विपन्नताको अवस्थामा मानिसले कस्तो कस्तो व्यवहार देखाउँछ भन्ने कुराको निरीक्षण ईश्वरले गरिरहेका छन् । सुखमा नमात्तिन र दुःखमा नआत्तिन ईश्वरले मानिसलाई सन्देश दिएका छन् । त्यसैले धनीले आफ्नो धनको निश्चित प्रतिशत (२.५ प्रतिशत) धन गरिबलाई जकातको रुपमा दिनै पर्ने नियम कुरआनमा उल्लेख छ । यस्तो धनको अंश धनीले गरिलाई दिने दान नभएर धनीको धनमाथि हुने गरिबको हक हो । त्यसैले गरिबको हक पूरा नगरेसम्म धनीको धन पवित्र बन्न सक्दैन । कुरआनको यो शिक्षाले धनी र गरिबविचको डर लाग्दो खाडल पुरिन केही हदसम्म मद्दत पुग्दछ र धनको मोह हटाउँछ भने अर्कोतिर गरिब र असहायप्रतिको मानिसको कर्तव्यबोध गराउँछ । आज गरिबीको कारणले गर्दा पनि विश्वमा ठूलो अशान्ति, हत्या, हिंसा, चोरी, डकैती र अनैतिक कार्यहरु फैलिरहेका छन् । धनको लागि मानिस एक अर्काको शत्रु बनिरहेका छन् । धनको लागि आफ्नो धनको शक्ति देखाएर अरुलाई दमन र अत्याचार गरिरहेका छन् ।

त्यस्तै, कुरआनले अरबी पात्रो अनुसार रमजान महिना भरी रोजा (संकल्पसहितको व्रत वा उपवास) बस्न आदेश दिएको छ । यसले एकातिर सम्पूर्ण आस्थावानहरुलाई एकसाथ बढीभन्दा बढी ईश्वरको भक्ति गर्न र उनीबाट समातिइने भय मनमा लिएर सत्कर्म गर्न प्रोत्साहित गर्दछ भने अर्कोतिर भोक र प्यासबाट गरिबले भोग्नु पर्ने पिडाको बोध गराउँदछ । यसको परिणाम स्वरुप मानिसले आफूलाई सधैं सत्कर्म र परोपकारमा व्यस्त राख्दछ । भोका, नाङ्गा गरिबहरुको पिडाको थोरै भएपनि उसलाई अनुभुति हुनाले उसका हातहरु गरिबको सहायताका लागि फैलिन थाल्छन् । यस कार्यबाट उसले आत्मामा शान्ति प्र्राप्त गर्दछ भने समाजबाट गरिबीको कारणबाट हुने अशान्ति हटाउन मद्दत पुग्दछ । कुरआनले भने बमोजिम धनको वितरण भएमा गरिब र धनीविच हाल देखिएको अन्तर रहदैन र दुबै पक्षमा धनको मोह हटेर जान्छ । जसले गर्दा विश्वमा आपसी सद्भाव, सहयोग र प्रेमको भावना जागृत भई सुख र शान्तिले बास पाउँछ । कुरआनले जकात, सद्का, फितरा आदिका रुपमा आफ्ना गरीब नातेदार, गरीब आफन्त, गरीब छिमेकी, गरीब गाउँले, गरीब यात्रु र अन्थ गरीबलाई क्रमशः प्राथमिकताका साथ आफ्नो धन दिएर मद्दत गर्ने शिक्षा दिएको छ । यसले परिवार वा नातेदारदेखि नै आर्थिक असमानता कम गरी आर्थिक भेद हटाउने निर्देशन दिन्छ ।

कुरआनले नैतिक पतन वा  नैतिक उत्श्रृङ्खलाबाट हुने अशान्तिलाई निमिट्यान्न पार्ने उत्कृष्ट उपाय बताएको छ । जुवातास, लागु पदार्थ, जाडँ रक्सी आदिको सेवनबाट परिवार, समुदाय र राष्ट्रमा हुने अशान्ति र लुटमार रोक्न कुरआनले यी सबैलाई हराम (अपवित्र) ठहराइ कोही पनि यस्ता कुराको नजिक पनि नजान आदेश दिएको छ । कुरआनको यो शिक्षालाई शिरोधार्य गरेमा यस्ता कुकर्मबाट हुने सबै प्रकारका उत्श्रृङ्खलता, वैमनस्यता र अशान्तिपन हटेर जानेछन् । त्यस्तै, छाडा र नग्नताबाट हुने बलात्कार र हत्या हिंसा जस्ता सामाजिक अपराध हटाउन महिला र पुरुष दुबैलाई पर्दा(शरीरका अंग सही ढंगबाट छोपिने पोशाक)को व्यवस्था कुरआनले गरेको छ । कुरआनको आदेश बमोजिम सही ढंगले पोशाकको प्रयोग गरेमा पनि शान्तिमा खलल उत्पन्न हुँदैन ।

कुरआनले समाजमा आतंक फैलाउने कार्य नगर्न सबै मानिसहरुलाई सचेत गराएको छ । यदि कसैले त्यस्तो आतंक फैलाउने कार्य गर्दछ भने उसले नराम्रो परिणाम भोग्नु पर्नेछ भनेर मानिसलाई चेतावनी पनि दिएको छ । आज विश्वमा आणविक अस्त्रको होडवाजी र शक्तिको प्रदर्शनले विश्वका मानिसहरु आतंकित बनिरहेका छन् । धनी वा गरिब, विकसित वा विकासोन्मुख सबै मुलुकका मानिसहरुले शान्तिपूर्ण जीवनयापन गर्न पाइरहेका छैनन् । यदि कुरआनको आदेशलाई मानेर विकसित र सम्पन्न भनाउँदा मुलुकहरु हतियार र शक्तिको होडवाजीबाट अलग रहन सके विश्वका नागरिकले शान्तिपूर्ण जीवनयापन गर्न पाउने थिए ।

कुरआनले मानिसलाई असल खराब कर्म बारे सचेत पारेको छ । यसले दुष्कर्मको दण्ड र सत्कर्मको पुरस्कार बारे स्पष्ट ज्ञान दिएको छ । यसले परलोकमाथि आस्था राख्न र यस धर्तीमा गरेका कार्यको प्रतिफल त्यहाँ भोग्न तयार रहन पनि निर्देशित गरेको छ । जसले एक ईश्वरको अस्थित्वलाई स्वीकार्दछ उसले परलोक अर्थात् मृत्युपर्यन्तको जीवनलाई पनि स्वीर्काछ । कुरआनको ईशवाणी अनुसार एकपटक प्रलय आउनेछ र त्यस समयमा सबै मानिसहरुको मृत्यु हुुनेछ । सृष्टिदेखि अन्तिम दिनसम्म मृत्यु भएका सम्पूर्ण मानिसहरलाई ृईश्वरले पुनः जीवित पार्नेछन र हश्रको मैदानमा सबैलाई भेला पारिनेछ । त्यसपछि धर्तीमा प्रत्येक मानिसले गरेका पाप र पुण्यको अभिलेख पल्टाई पाप र पुण्य मध्ये जसको पल्ला भारी हुनेछ सोही अनुसारको प्रतिफल प्रत्यके व्यक्तिलाई प्रदान  गरिनेछ । जसको पल्ला भारी हुनेछ उसलाई नरकको दन्कदो आगोमा होमिने छ र उसले त्यहाँ सधै जलिरहनु पर्नेछ । जसको पुण्यको पल्ला भारी हुनेछ उसलाई स्वर्गको बगैंचामा बसाइने छ जसको तलतिरबाट सधैं कलकल गर्दै नहर बगिरहेका हुनेछन्  र उसले धर्तीमा भोग्न नपाउने सुख प्राप्त गर्नेछ । कुरआनले यस सत्यतालाई स्वीकार गर्ने व्यक्ति अवश्य नै यस धर्तीमा पुण्य र परोपकारी कार्य गर्न तल्लिन हुन्छ । प्रत्येक मानिसको मनमा ईशभयले बास ग¥यो र सधैैं सुकर्म मात्रै गर्दै रह्यो भने यस संसारमा कलह, झैझगडा र अशान्ति फैलिने कुरै आउँदैन । यसरी परलोकप्रतिको विश्वासले  मानिस सत्कर्मी, सहयोगी, उपकारी र शान्तिप्रिय बन्दछ र विश्वमा शान्ति छाउँछ । जसले मृत्युपर्यन्तको जीवनलाई विश्वास गर्दैन मृत्युपछि एकछिन धर्तीमा सबै मानिसलाई जीवित पार्न सकिने प्रमाण ईश्वरले कुरआनका माध्यमबाट दिएका छन् । बेकामको गिलोमाटोबाट पहिलो मानव आदम (अलै.) को सृष्टि गर्ने ईश्वर, पानीको थोपाको रुपमा रहेको वीर्यमा भएको सामान्य आखाँले देख्न नसकिने हजारौं शुक्रकिटहरुमध्ये एउटा शुक्रकिटबाट विभिन्न अंगप्रत्यंग भएको विशााल शरीरयुक्त हामी मानवलाई बनाउन सक्ने ईश्वरले माटोमा विलय भएको हाडखोड वा खरानी भएको हाडखोड जोडी मानव किन बनाउन सक्दैनन्, उनी अवश्य यसो गर्ने क्षमता राख्दछन् भन्ने कुरा कुरआनले नै स्पष्ट पारेको छ । यसबाट आस्थावानहरुमा पनि आस्था र विश्वास अवश्य पलाउँछ । प्रत्येक व्यक्तिको मनमा आफू एक दिन मर्नु पर्ने  पुनः ईश्वरबाट जीवित पारिने, सर्वशक्तिमान ईश्वर समक्ष खडा हुनुपर्ने र आफूले यस धर्तीमा गरेका असल, खराब कार्यहरुको लेखाजोखा भई त्यसैको आधारमा अनन्तकालसम्म दण्डित वा पुरस्कृत हुनुपर्ने भन्ने कुराको छाप परेमा उसले अशान्ति फैलिने कार्य कदापि गर्नेछैन ।

विश्व भातृत्व, समानता र शान्तिको शिक्षा दिने महान ग्रन्थ कुरआनका पालनकर्ताहरु आज अविवेकी, विभेदकारी, रंगभेदी र सामन्ती संस्कार भएमा अनास्थावादीहरुको कुप्र्रभावमा परेर आपसी फुट, कलह र विभेदीकरण जस्ता कार्यमा लिप्त भइरहेका छन् । यसो हुनुको मुख्यकारण आफूलाई सभ्य र विकसित भनाउन खोक्रो आडम्बर ओडेका पश्चिमाहरुको अन्धो अनुसरण हो । आज विश्वका सम्पूर्ण मुसलमानहरुले आफूलाई कुरआनको सच्चा उपदेश ग्रहणकर्ता र मुहम्मद (सल्ल.) का सच्चा अनुयायी सावित गरी कुरआनको शान्ति र समानताको शिक्षा फैलाउन सके साँच्चै नै विश्वमा शान्ति छाउनेछ । यसका लागि प्रत्येक मुसलमान दाजुभाई तथा दिदीबहिनीहरुले आफ्नो जीवनलाई कुरआनले निर्धारण गरेको जीवन व्यवस्थाको साँचोमा ढाल्नु पर्दछ ।


लेखक : इरफान पोखरेल

Comments