एकेश्वरवाद नै सत्य मार्ग


सृष्टिकर्ताको सामू मानिसले गर्ने सबभन्दा ठूलो भूल वा पाप शिर्क हो । शिर्कको शाब्दिक अर्थ अनेकेश्वरवाद वा बहुदेबबाद वा सत्ता, गुण, अधिकार र अस्तित्वमा अल्लाहसँग अरु कुनै वस्तु चिज वा सृष्टिलाई सरिक गराउनु हो । सृष्टिकर्ता अल्लाहको समकक्षी वा साझेदारीका रुपमा सृष्टिको अन्य कोहीलाई मान्नु नै शिर्क हो । लाभहानी, सफलताअसफलतामा अल्लाहका साथै अन्यको हात रहेको मानेर तिनीहरुको उपासना, भक्ति गर्नु र तिनीहरुका सामु शिर निहुराउन नै वास्तविक शिर्क हो । शिर्क अज्ञानताको परिणाम हो । वास्तविक सृष्टिकर्ता, पालनकर्ता, संरक्षक, संचालक संसार र आखिरतका मालिक, शासक आदि एक अल्लाह मात्र हुन् र मानिसको सृष्टि उनैको मात्र प्रसंसा भक्ति र आज्ञापालनका लागि हो भन्ने कुराको ज्ञान नहुनाले नै मानिसले शिर्क गर्ने गर्दछन् । शिर्क गर्ने व्यक्तिले यस लोकमा त सुख पाउँदैन पाउँदैन, प्रलयपछिको अनन्तकालिन जीवनमा समेत नर्कको दन्दनाउदो आगोमा जलिरहनु पर्दछ ।

मानिस शिर्कको दलदलमा फस्नुको कारण र शिर्कका विशेषताका बारेमा चर्चा गर्नु आवश्यक देखिन्छ । मानव जातिमा देखिएको एउटा विचार अनुसार सृष्टिको यो व्यवस्था ईश्वर विना बनेको होइन तर यसको एउटा मात्र प्रभु वा मालिक नभएर धेरै मालिकहरु छन् सृष्टिका विभिन्न शक्तिहरुका सुत्र विभिन्न ईश्वरहरुको हातमा रहेको छ र मानिसको सौभाग्य वा दुर्भाग्य, सफलता वा असफलता, लाभ वा हानी आदि ती सत्ताधारीहरुको कृपामा निर्भर रहन्छ भन्ने पूर्णतः असत्य सोच त्यो मानिसहरुमा रहेको छ । जो मानिसमा यस्तो सोच रहेको छ उसले आफ्नो अनुमान र अड्कलको भरमा प्रभुत्व शक्ति कहाँ कहाँ, कस कसको अधिकारमा छ भन्ने कुरा निश्चित गर्न कोशिस गरिरहेको छ । यस्तो अनुमान र अड्कलबाजीको क्रममा जुन वस्तुमा गएर उसको नजर ठोकिन्छ त्यसैलाई नै उसले आफ्नो ईश्वर वा प्रभु मान्न थाल्दछ । यसले मानिसको सम्पूर्ण जीवन अन्धविश्वासपूर्ण अन्धकारको घेराभित्र जकडिन पुग्दछ । ऊ कुनै प्रमाण विना नै खाली आफ्नो विचार र अनुमानको आधारमा अनेक चिजहरुले अलौकिक तरिकाबाट आफ्नो भाग्यमा राम्रो वा नराम्रो प्रभाव पार्दछन् भन्ने विचार कायम गर्दछ । ऊ कहि कुनै मूर्तिले आफ्नो भाग्य बनाई दिने कुराको भरोसा गर्दछ त कहि कुनै काल्पनिक कर्ताधर्तालाई प्रसन्न पार्न दौडधुप गर्दछ । कहि कुनै अपसकुन हुने कुराको कल्पनाबाट हिम्मत हारेर बस्दछ भने कहि कुनै शुभ सकुनसँग आशा जोडेर काल्पनिक महल खडा गर्दछ । यी सबै चिजहरुले उसको विचार एवं प्रयासहरुलाई प्राकृतिक र वास्तविक सत्यतावाट हटाएर अप्राकृतिक र सत्यताहिन मार्गतर्फ डोर्याउँछन् । यस्तो विचारको परिणाम स्वरुप मानिसका सामु पूजा पाठ, अर्पण, नजर हटाउने र अन्य विभिन्न कार्यहरुको एउटा लामो सूची नै तयार हुन्छ । यस्ता अकार्थ कार्यहरुमा अल्झिएर मानिसका प्रयास र कार्यहरुको एउटा ठूलो हिस्सा विना उपलब्धिको कार्यमा बर्बाद हुन पुग्दछ ।

यस्तो अनेकेश्वरवादी विचार भएका मानिसहरु सधैं अनेक लाभका लागि अनेक ईश्वरको खोजी र भरोसामा भौतारिरहेका हुन्छन् । जो मानिस यो अनेकेश्वरवादी अन्धविश्वासमा पर्दछ उसलाई मुर्ख बनाएर आफ्नो जालमा फसाएर राम्रो अवसर चलाख मानिसहरुलाई प्राप्त हुन्छ । ती ढोगीं र ठग प्रकृतिका मानिसहरु मध्ये कोही राजा बनेर बस्दछ र चन्द्र, सुर्य तथा अन्य देवताहरुसँग आफ्नो बंश जोडेर आफूलाई अवतार बनाएर आफू देवता भएको र तिनीहरु आफ्नो सेवक वा भक्त भएको विश्वास  दिलाउन सफल हुन्छन् । त्यस्तै कोही पुरोहित वा मुजाबिर भएर बस्छन् र बहुदेबबादीहरुलाई भन्दछन् तिमीहरुको लाभहानी जसको हातमा छ त्यससँग मेरो सम्बन्ध छ र तिमीहरु म मार्फत मात्र ऊ सम्म पुग्न सक्छौं ।यस्तो कपोकल्पित र झुठको खेती गर्न ती मानिसहरु सफल हुन्छन् । त्यस्तै, कोही पण्डित तथा पीरबाबा बनेर बुटी तथा तन्त्रमन्त्रको ढोग रचेर ती चिजहरुले अलौकिक रुपमा मानिसहरुको आवश्यक पूरा गर्दछन् भन्ने विश्वास उनीहरुलाई दिन  सफल हुन्छन । यसरी मानिसहरुमा यस्ता विचार र धारणाहरुको कारणले गर्दा केही प्रभावशाली परिवार, धार्मिक पदाधिकारी, तन्त्रमन्त्र गर्न जादुगर र आफू अदृश्यशक्तिवान भएको ठोकुवा गर्ने पेशेवारहरुको प्रभावको बोझिलो जुआ सम्पूर्ण मानिसहरुको गर्दनमा पर्न जान्छ । ती बनावटी भगवानले ती मुर्ख विचारकहरुलाई दूध दिने वा सवारीको साधन र भारी बोक्ने जनावरका रुपमा सेवक, भक्त र नोकर बनाउँछन् ।

 यो दृष्टिकोण न त विज्ञान तथा कला, दर्शन तथा साहित्य, सभ्यता तथा राजनितिका लागि कुनै स्थायी आधार निर्माण गर्दछ न नै पालना गर्न सक्ने लाभदायक मार्गदर्शन प्राप्त हुन्छ । ती ईश्वरहरुसँग मानिसको सम्बन्ध यस हदसम्म सीमित हुन्छ कि ऊ उनीहरुको कृपा र सहायता प्र्राप्त गर्नका लागि पूजा र उपासना जस्तो केही विधि पूरा गरोस् । यसरी अवास्तविक र सृष्टिपूजक अनेकेश्वरवादीहरु व्यवहारतः ती सम्पूर्ण मार्गहरुमा हिड्न पुग्दछन् जो पूर्णतm अज्ञानताका कारणले सृजित भएका छन । चरित्र, व्यवहार, सभ्यता, राजनिति, आर्थिक, दर्शक, साहित्य आदि जुन हैसियतबाट हेरे पनि अनेकेश्वरवादी व्यवहार र पूर्ण अज्ञानी व्यवहारमा कुनै मौलिक भिन्नता पाइदैन । यसबाट प्रष्ट हुन्छ कि अनेकेश्वरवाद भूलबस वा अज्ञानताबस अपनाइने मार्ग हो जुन जीवनको अन्तिम लक्ष्य प्राप्तिको सही मार्ग अवश्य होइन । मानिसहरुलाइृ पथभ्रष्ट, कुचरित्रवान, नर्कको भागिदार र स्वार्थ प्रणेता बनाउने मार्ग नै शिर्क हो । यस्ता मानिसहरुलाई कहि कतैबाट सहयोग प्राप्त हुने छैन । कुरआनमा भनिएको छ, “जो व्यक्ति अल्लाहसँग अन्य कसैलाई साझेदार बनाउँछ मानौं त्यो आकाशबाट झर्यो, अब चाहे त्यसलाई पंक्षीले उडाएर लैजाओस वा वायुले त्यसलाई टाढा दुर्गम स्थानमा फ्याँकिदिओस् ।” (कुरआन २२:३१)

त्यसैले तौहिद (एकेश्वरवाद) लाई आफ्नो मूल मार्ग मानेर सोही अनुरुपको जीवन व्यवस्था कायम गर्नु नै सांसारिक र आखिरत (महाप्रलय) पछि दुवै जीवनमा सफलता प्राप्त गर्नु र आस्थालाई मजबुत बनाउनु हो ।

तौहिदका बारेमा ईशदुतहरुले नै भनेका छन्, मानिसको चौतर्फी रहेको सारा जगत र स्वयं मानिससमेत सर्वशक्तिमान एक अल्लाहका देन हुन् । त्यसैले यसका मालिक,संरक्षक, शासक सबैथोक अल्लाह एक्लै हुन् । यो सारा ब्रह्माण्ड अल्लाहद्वारा रचित एउटा अनुशासित तथा व्यवस्थित राज्य हो । यो एउटा सर्वसत्तात्मक व्यवस्था भएकाले सर्वोच्च शासक अल्लाह बाहेक यहाँ अरु कसैको आदेश चल्दैन । जीवन र जगतको व्यवस्थामा काम गरिरहेका सम्पूर्ण शक्ति उनैको अधिनमा रहेका छन् । उनको हुकुमलाई नकार्न सक्ने शक्ति कसैको छैन र उनको अनुमति विना आफ्नो अधिकार प्रयोग गर्ने कसैको शक्ति छैन । पृथ्वीमा सबै प्राणीहरु उनै एक अल्लाहको  हुकुम अनुसार मात्र कार्य गर्दछन् । त्यस्तै ब्रह्माण्डमा भएका सूर्य, चन्द्र, तारा, ग्रह आदिको परिक्रमण तथा परिभ्रमण सबै एकै अल्लाहको हुकुम अनुसार मात्र भएको छ ।

स्वयम् मानिसको जन्म, उसका शरीरका श्वासप्रणाली, मुटुको चाल सबै एक अल्लाहको आदेश अनुसार मात्र सञ्चालित हुन्छ । यो सत्यताको अवगतपछि हामीले आफ्नो सोच्ने शक्ति तथा तर्क शक्तिको सहि प्रयोगबाट एक अल्लाहालई वास्तविक शासक तथा स्वामी मानी उनको तर्फबाट आएको शिक्षा र आदेशलाई ईश्वरीय भएकोमा पूर्णविश्वास गरी ती आदेशहरुका अगाडि हामी नतमस्तक हुनै पर्दछ ।

मानिसको यो सांसारिक जीवन वा भौतिक जीवन निमिष भरको मात्र हो । आखिरत पछिको जीवन नै अनन्त जीवन हो । त्यसैले मृत्युपर्यान्तको जीव्न सुखमय वा दुःखदायी हुन्छ भन्ने कुरा सांसारिक जीवनमा गरेका क्रियाकलाप, आचरण र व्यवहारमा निर्भर गर्दछ । जसले शिर्क वा अनेकेश्वरवादलाई अँगाल्दछ उसको मृत्युपर्यान्तको जीवन निश्चय नै दुखदायी र पीडादायी हुनेछ । उसले नर्कको दन्कदो आगोमा होमिनु पर्नेछ तर यदि कोही तौहिद (एकेश्वरवाद) लाई अँगाल्दछ र सोही अनुसारको आचरण र व्यवहार गर्दछ भने उसको मृत्युपर्यान्तको जीवन अवश्य नै आनन्ददायी र सुखदायी हुनेछ । जहाँ उसलाई सांसारिक जीवनमा भन्दा कैयौं गुणा बढी सुख प्राप्त हुनेछ । त्यसैले आखिरतमा सुख प्राप्त गर्न हामी शिर्कबाट बच्नु पर्दछ र अल्लाहले देखाएको तथा अल्लाहका अन्तिम रसुल मुहममद (स.) ले अपनाएको जीवन पद्दतीलाई अँगाल्नु पर्दछ । यही मार्ग नै वास्तविक सत्यवादी र सफलताको मार्ग हो ।


इरफान पोखरेल

Comments